सर्लाही । सर्लाहीमा कुवेतबाट फर्किएका एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
सर्लाहीको हरिपूर्वा–५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ बर्षीया श्रीमती चित्रलेखा यादवको गोली प्रहार गरी हत्या गरेका हुन् । टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
गएराति पौने २ बजे धिरेन्द्रले चित्रलेखालाई गोली प्रहार गर्न खोज्दा छुट्याउने क्रममा ससुरा रामदिनेश यादवलाई गोली लागेको अनुमान गरिएको छ । युवकका ५४ वर्षीय बुबा रामदिनेशको अवस्था खतरामुक्त रहेको छ । धिरेन्द्रले श्रीमती र बुबामाथि तीन गोली प्रहार गरेका थिए ।
धिरेन्द्र एक महिना अघि मात्रै वैदेशिक रोजगारी कुवेतबाट फर्किएको पाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीलाई हत्या गर्नुको कारण भने खुलेको छैन । तर, घरायसी विवादमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार कुबेतबाट फर्किएदेखि धिरेन्द्रले श्रीमतीसँग झगडा गरेका थिए । उनीहरुबीच बादविवाद भएपछि धिरेन्द्र भारततर्फ गएका थिए । तर, गएराति एक्कासी उनले घरमा पुग्नासाथ श्रीमतीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने धिरेन्द्र भने हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।