जिरी(दोलखा) । शिक्षाशास्त्रतर्फ उत्कृष्ट छनौट भएकी दोलखाको बैतेश्वरकी मनुषा चौंलागाई मावि स्थायी विज्ञान शिक्षक बनेकी छन् ।
शिक्षाशास्त्रतर्फ उत्कृष्ट अंक ल्याएर ४९ औं दीक्षान्त समारोहमा पुरस्कृत हुन सफल मनुषा स्थायी विज्ञान शिक्षक बनेकी हुन् । उनी दोलखाको बैतेश्वर गाउँपालिका–४ काब्रेकी हुन् । शिक्षाशास्त्रतर्फ ७५ दशमलव ५० प्रतिशत ल्याएर प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण भएपछि मनुषा सुशीलादेवी शर्मा पुरस्कार २०७९ बाट पुरस्कृत भएकी थिइन् । सुशीलादेवी शर्मा पुरस्कार शिक्षा संकाय (बीएड)को परीक्षामा सहभागी महिलामध्ये सर्वोत्कृट अंक ल्याउने परीक्षार्थीलाई दिइन्छ ।
जुन गत पुसमा उक्त पुरस्कार ४९ औं दीक्षान्त समारोहमा मनुषाले पाइन् । शिक्षाशास्त्रतर्फ उत्कृष्ट भएकी मनुषाले अहिले आफ्नो सपना साकार पारेकी छन् । भक्तपुरको सानोठिमी क्याम्पसबाट शिक्षा संकायमा प्रथम श्रेणीमा स्नातक उत्तीर्ण गरेकी उनी शिक्षण पेशा रुचाउथिन् । अहिले उनले विज्ञान मावि स्थायी शिक्षक बन्न पाउँदा सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेकी छन् ।
मनुषाले कक्षा १ देखि १२ सम्म बैतेश्वरकै हनुमन्तेश्वर माध्यमिक विद्यालयमा अध्ययन गरेकी थिइन् । एसईई सकेपछि मनुषाले शिक्षा संकाय लिएकी थिइन् । शिक्षा संकायमा सरकारी क्याम्पस सानोठिमीबाटै मनुषाले स्नातक पास गरेकी छन् । उनलाई सानैदेखि शिक्षिका बन्ने रहर थियो । उनी शिक्षक बन्ने सपना बोकेर अध्ययनमा क्रियाशील थिइन् । मनुषा शिक्षक बन्नकै लागि कक्षा ११ देखि नै शिक्षाशास्त्र लिएर पढ्न थालेकी थिइन् ।
उनले अध्ययन गर्दै गर्दा केही विद्यालयहरुमा शिक्षण पेशालाई समेत निरन्तरता दिइन् । फलस्वरुप उनी अहिले माध्यमिक तहको विज्ञान शिक्षक बनिन् । उनी अहिले सानोठिमी क्याम्पसमै शिक्षाशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । मनुषा पहिलो प्राथमिकता सरकारी शिक्षण पेशालाई राखेकी छन् ।
मनुषा नेपालमै आफूले पढेको विषयमा शिक्षण पेशामा रुचि राख्छिन् । बुबा लक्ष्मण चौंलागाई पनि शिक्षण पेशामा भएका कारण उनलाई अझ हौसला मिलेको छ ।