
काठमाडौँ । नेपालको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिती प्रतिवेदन’ अनुसार एक महिनाम विदेशी विनिमय सञ्चिती २.५ प्रतिशतले वृद्धि भएको हो । यो सँगै चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । यसअघि असार मसान्तसम्म २० खर्व ४१ अर्ब १० करोड रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र वैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब बढि रेमिट्यान्स भित्रिएको छ । राष्ट्र वैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा १ खर्ब ३६ अर्ब ९६ करोड बराबरको रेमिट्यान्स भित्रिएको हो । साउन महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशत बढि हो । यो अवधिमा ३६ हजार ९ सय २८ जनाले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएका छन् भने २२ हजार ६ सय ४७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
चालु आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ । अघिल्लो वर्षको साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत रहेको चालु वर्ष गैरखाद्य वस्तुको मुल्यवृद्धि कम हुँदा मुद्रास्फीति नियन्त्रणमा देखिएको हो ।