
दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित पशु्पति चौलागाई स्मृति अस्पतालको अध्यक्षमा भरत नारायण प्रधान नियुक्त भएका छन् ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पशु्पति चौलागाई स्मृति अस्पतालको अध्यक्षमा प्रधानलाई नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा पहिलो संशोधन अध्यादेश, २०७९ को दफा २६ ख को उपदफा २ बमोजिम प्रधानलाई नियुक्त गरिएको बागमती प्रदेश सरकारले जनाएको छ ।
यसअघि प्रदेश सरकारले भीमेश्वर नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर केसीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको थियो । यद्धपी तत्कालीन अध्यक्ष केसीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यमा मनोननय दर्ता गरेसँगै राजिनामा दिएका थिए । केसीको राजिनामासँगै भीमेश्वर नगरपालिकास्थित दोलखा बजारका प्रधानलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष प्रधान नेपाली कांग्रेस दोलखाका नेता हुन् । उनी गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा भीमेश्वर नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष पदमा पराजित भएका थिए ।