images
images

दोलखा सुन प्रकरणः सरकारी वकिल कार्यालयले अदालतमा बुझायो मुद्धा

दोलखा । जिल्ला सरकारी वकिलको कार्यालयले दोलखा सुन प्रकरणको अनुसन्धान पुरा गरी आज अदालतमा मिसिल बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले सुन प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान पुरा गरी मंसिर ५ गते बुझाएको प्रतिवेदन उपर अध्ययन गरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत दोलखामा मिसिल पेश गरेको हो । दोलखाबाट बरामद भएको ११ किलो र बरामद नभएको तर तस्करी गरेको पुष्टि भएको २२ किलो सुन प्रकरणको प्रतिवेदन अध्ययन गरी फाइल आज अदालतमा पेश गरिएको जिल्ला न्यायधिवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

दोलखाबाट ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध चार वटा ऐन अनुसार कारवाही र जरिवानाको माग दावी गरिएको छ । सुन चोरी पैठारी भन्सार ऐन २०६४ को दफा ५७ (१) बमोजिम कसुर, संगठित अपराध निवारण ऐन २०७० को दफा (२) को घ, दफा ३ को उपदफा १, २, ३ र खण्ड ‘क’ र सोही ऐनको दफा ५ बमोजिमको कसुरमा मागदावी गरिएको छ । यस्तै, राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ (१) बमोजिम कसुर र एकिकृत कसुरतर्फ मुलुकी अपराध संहिता २०७४ को दफा ४३ (१) बमोजिमको सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

भन्सार ऐन अनुसार ३ वर्षदेखि ५ वर्षसम्म कैद र विगो जफत गरी विगो बमोजिम जरिवाना, संगठित अपराध ऐन अनुसार ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना,राष्ट्र बैंक ऐन अनुसार विगो जफत गरी विगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद वा दुवै मागदावी गरिएको छ । यस्तै, एकिकृत कसुर अनुसार प्रतिवादीलाई जति सजाय हुन्छ त्यसमा ५० प्रतिशत थप सजाय मागदावी गरिएको छ भने कसुरजन्य साझा सम्पत्ति तथा सामान रोक्का नियन्त्रण जफत २०७० बमोजिम प्रतिवादीबाट बरामद भएका सम्पुर्ण सामान दावी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले दोलखा सुन प्रकरणको अनुसन्धान पुरा गरी आज अदालतमा मिसिल बुझाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सुन प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान पुरा गरी मंसिर ५ गते बुझाएको प्रतिवेदन उपर अध्ययन गरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत दोलखामा मिसल पेश गरेको हो । दोलखाबाट ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध चार वटा ऐन अनुसार कारवाही र जरिवानाको माग दावी गरिएको छ ।

सुन तस्करी सम्बन्धी मुद्धाको तत्कालै थुनछेक बहस हुने र बहस टुंगिन करिव एक साता समय लाग्ने जिल्ला अदालत दोलखाले जनाएको छ । दोलखाबाट गत असोजमा ११ किलो सुन बरामद भएपछि पक्राउ परेकाहरुमाथि गरिएको अनुसन्धानका क्रममा ३३ किलो सुन जिल्लाबाट तस्करी भएको पुष्टि भएको थियो । ३३ किलो सुन तस्करी प्रकणमा २७ जनाको संलग्नता पुष्टि भएको छ । त्यसमध्ये ११ किलो सुन तस्करीमा संलग्न १२ जना र बाँकी २२ किलो सुन तस्करी प्रकरणमा संलग्न ३ जना मात्रै पक्राउ परेका छन् । फरार रहेका १२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दोलखाको लामावगर नाका हुँदै ३३ किलो सुन भित्रिएको र सो वापतको रकम डलर र क्रिप्टो करेन्सी मार्फत भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ । सुन तस्करीमा संलग्न व्यक्तिहरुको बयान र प्रहरी अनुषन्धानवाट लामावगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुलेको थियो । सुन तस्करहरुको समूहले चिनियाँ तस्करलाई नेपालवाट क्रिप्टो करेन्सी अर्थात डिजिटल वालेट प्रयोग गरी २ अर्व ९१ करोड ४८ लाख ३२ हजार ५ सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको छ ।

प्रहरीले लामावगरको फलाक नाकावाट भित्रिएको ३३ किलो सुन मध्ये ११ किलो सुन दोलखावाट र अनुषन्धानको क्रममा ५ सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मुल्य १० करोड ६८ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ बराबरको रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिहरुवाट १८ लाख ३३ हजार ५ सय नगद बरामद गरेको थियो भने उनीहरुको नाममा बिभिन्न वैंकमा रहेको ३१ लाख ७४ हजार ६ सय ६५ रुपैयाँ रोक्का राखेको छ ।