images
images

चिसो बढेसँगै सगरमाथा क्षेत्र छाड्दै विदेशी पर्यटक, एक सातामा २ हजार बढी बाहिरिए

  • ११ मंसिर २०८१, मंगलवार ०७:४९

सोलुखुम्वु । चिसो बढेसँगै विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्र छाड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ ।

चिसो बढेपछि सगरमाथा प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा मात्रै जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला पुग्दा २ हजार ४ सय पर्यटक बाहिरिएका छन् । चिसो बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् । कतिपय पर्यटक चिसोका कारण माथिल्ला क्षेत्र नपुगी लुक्ला र नाम्चेबाटै फर्किने गरेका छन् ।

सिजन सकिन लागेसँगै धमाधम पर्यटक बाहिरिन थालेपछि लुक्ला बाट फर्किने जहाजमा यात्रुको चाप बढेको छ । जहाजमा टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौं फर्किने गरेका छन् ।

लुक्ला विमानस्थलमा हाल करिव एक सयको हाराहारीमा उडान अवतरण हुने गरेको छ । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेको प्राधिकरणले जनाएको छ ।

फाईल तस्वीर ।