काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका एक जना पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको हो । जाडोको कारण हिटर र फलामको कराहीमा आगो बालेर सुतेका ८२ वर्षीय लामा र उनकी श्रीमती असनी लामा निसास्सिएर बेहोस भएका थिए । बेहोस दम्पतीलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा पूर्ववडाध्यक्ष लामाको मृत्यु भएको छ भने उनको श्रीमतीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बिहान करिब आठ बजेसम्म पनि नउठेपछि छोरा र बुहारीले ढोका खोली हेर्दा उनीहरू अचेत अवस्थामा भेटिएपछि तत्कालै उनीहरूलाई धुलिखेल अस्पताल लगिएको थियो । पूर्ववडाध्यक्ष लामालाई अस्पतालले विहान करिब साँढे ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा लामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।










