काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशबासीका नाममा सम्बोधन गर्नुभएको छ ।
सरकार एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकी देशबासीको नाममा सम्बोधन गर्नुभएको हो । सम्बोधनका क्रममा उहाँले कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताउनुभयो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको उहाँको भनाई छ । उहाँले अब सरकारको कार्यशैली बदलिने घोषणा समेत गर्नुभयो । केही पूर्व निर्धारित र अपरिहार्य बाहेक आफु बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एव्म विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिँदै उहाँले सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने पनि स्पष्ट पार्नुभयो ।
यस्तै सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान समेत गर्नुभयो । उहाँले दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्नुभएको हो । अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उहाँले बताउनुभयो ।
साथै निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने उहाँको भनाई छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २ दशलव ७ प्रतिशत बिन्दुले कम भएको बताउनुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ले अब २०८० को दशक तीब्र विकासको दशक हुने बताउनुभएको छ । साथै, प्रधानमन्त्री ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।










