images
images

पूर्खाले निर्माण गरेको पाटी पूननिर्माणका लागि थपलिया समुदायका विशिष्ट व्यक्ति दोलखामा

दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा थपलियाका पूर्खाले निर्माण गरेको पाटी पूर्ननिर्माणका लागि शिलान्यास गरिएको छ ।

थपलियाका पूर्खाले निर्माण गरेको पाटी शिलान्यासका लागि थपलिया समुदायका विशिष्ट व्यक्तिहरु शिलान्यासका लागि आज दोलखा आएका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, नेपाल सरकारका सचिव रामप्रसाद थपलिया पाटीको शिलान्यासका लागि दोलखाको पवटीमा पुगेर फर्किएका छन् । थपलियाका पूर्खाले पैदल यात्रीका लागि निर्माण गरेको पाटी २०७२ सालमा आएको विनासकारी भूकम्पले भत्काएको थियो । करिव ३ सय ५ वर्ष अगाडि थपलियाका पुर्खाहरुले निर्माण गरेको दोबाटे पाटी भूकम्प गएको सात वर्षसम्म पनि निर्माण भएको थिएन । सो पाटी १७७४ मा पण्डित नन्दखर थपलियाले निर्माण गरेका थिए ।

पूरातत्व विभागले सो ऐतिहाँसिक पाटी कुल २ करोड ३२ लाख लागतमा निर्माण गर्ने भएको छ । पूर्खाको इतिहाँसलाई संरक्षण गर्न पहिलेकै स्वरुपमा पाटी निर्माण गर्न लागिएको र छानो तामापाताको लगाईनेछ । दुई तले पाटी इतिहाँस झल्काउने किसिमको बनाउन लागिएको हो । पूर्खाहरुले लामो बाटो हिँड्दा बास बस्ने र पानी खानका लागि सो पाटी प्रयोग गर्ने गरेका थिए । विगत लामो समयदेखिको इतिहाँसलाई बचाउन पुरानै शैलीमा सिमेन्ट प्रयोग नगरी पाटी पुननिर्माण गरिनेछ ।

पुर्खाको इतिहाँसको संरक्षणका लागि भन्दै थपलिया समुदायका विशिष्ट व्यक्तिहरु आज पवटीमा आएका हुन् । प्रमुख निर्वाचन आयुक्त, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री र नेपाल सरकारका सचिव थपलियाले संयुक्त रुपमा पाटीको शिलान्यास गरेका छन् । पाटीको शिलान्यास गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले थपलिया समुदायको पुर्खाको थलो पवटी भएको र आफ्ना पुर्खाले बनाएको संरचनाको संरक्षण गर्नु आफुहरुको दायित्व भएको बताउनुभयो ।

प्रमुख आयुक्त थपलिायको पुर्खेउली घर पनि दोलखाको पवटी हो । उनको पूर्खा बसाईबसाई गरेर मधेश झरेका थिए । दोबाटे पार्टी जिर्णोद्धार तथा पुननिर्माण समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा आयोजित पाटी शिलान्यास कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य, मेलुङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर कोइराला लगायतको उपस्थिति थियो ।