काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएपछि सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको छ ।
कोसी प्रदेशमा आफ्नो उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग असन्तुष्ट बनेको हो । कोशीमा कांग्रेसको धोकापछि माओवादीमा तरङ्ग पैदा भएको छ । यही माघ ११ गते विहिबार सम्पन्न निर्वाचनको दिन कांग्रेसको एउटा समूहले योजनबद्ध रुपमा आफ्ना उम्मेदवारलाई पराजित गरेको भन्दै माओवादी नेताहरुले यसलाई सामान्य रूपमा लिन नहुने बताउँदै आएका छन् । उनीहरुले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण समेत गराएका छन् । यसबारे कांग्रेसको संस्थागत धारणा सार्वजनिक हुनुपर्ने माओवादीको माग छ ।
कोसी प्रदेश महिलातर्फ माओवादी उम्मेदवार चम्पादेवी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित हुनुभएको थियो । सत्ता गठबन्धनसँग जित्ने पर्याप्त मत भएपनि शसस्त्र युद्धका क्रममा एक हात समेत गुमाएर संघर्षको राजनीतिमा सक्रिय ओखलढुंगाकी कार्की पराजित हुन पुगेपछि माओवादी कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले सोही दिन नै कांग्रेससँगको सहकार्यबारे गम्भीर समीक्षा हुनुपर्ने बतानुभएको थियो । आज मात्रै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएको बताउनुभएको छ । रोल्पामा पुगेर पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गर्नुभएको हो । प्रत्येक निर्वाचनमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेसले भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको उहाँको आरोप छ ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । कार्कीले जित्नेमा माओवादी ढुक्क थियो भने कांग्रेस कै उम्मेदवार सिटौला प्रति जित्नेमा आशंका थियो । कांग्रेसको शेखर समूहबाट असहयोग हुन सक्ने अनुमान थियो । तर, परिणाम उल्टिएपछि सिटौला विजयी भएपनि कार्कीले हार्नुपरेको थियो । सिटौला विजयी हुनु र कार्कीले हार व्यहोर्नु परेपछि गठबन्धनमा अहिले अविश्वास बढ्दै गएको छ । माओवादीभित्रै पनि कांग्रेससँगको सहकार्य छाड्नुपर्ने दबाब बढेको छ ।
कोसी प्रदेशको राजनीतिले फेरि एकपटक केन्द्रमा हलचल पैदा गरेको छ । नेताहरूको दबाबपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग यसविषयमा छलफल गर्ने तयारी गर्नुभएको छ ।










