
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको एक सामुदायिक वनबाट सुरु भएको डढेलो एक सातापछि नियन्त्रणमा आएको छ ।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाको महाभारत थामलेकमा लागेको भिषण डढेलो एकसातापछि नियन्त्रणमा आएको छ । गत मंगलबारबाट सुरु भएको आगो नियन्त्रणमा आएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।
यसअघि सो आगो भिनाउनका लागि हेलिकप्टरबाट पानी खन्याईएपनि डढेलो नियन्त्रणमा आउन सकेको थिएन । हेलिकोेप्टरबाट करिव २४ हजार लिटर पानी खन्याउँदा समेत नियन्त्रणमा आउन नसकेको आगो एक सातापछि आफै नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । डढेलो फैलिनसक्ने क्षेत्रमा पूर्ण रुपमा नियन्त्रण भईसकेको र खोँचहरु तथा केही पुराना रुखका ठुटाहरुमा आगो निभ्न बाँकी रहेको उहाँको भनाई छ ।
आगलागिबाट खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका ५ सामुदायिक वनको करिव सय हेक्टर वन नष्ट भएको जिल्ला वन कार्यालय काभ्रेका डढेलो फोकल पर्सन चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार थामलेकको चिसापानी सामुदायिक वन, मुलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृती सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वनमा आगलागिले ठुलो क्षति पुगेको हो ।
फाईल तस्वीर ।