
काठमाडौँ । अनलाईन जुवा खेलाएको आरोपमा रामेछापका एक सहित दुई जना पक्राउ परेका छन् ।
अनलाइन जुवा खेलाएको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले मन्त्र १०८ नामक वेबसाइटबाट अनलाइन बेटिङ खेल्ने तथा खेलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले दुई करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको पाईएको हो । उनीहरूको मोबाइल परीक्षणबाट क्रिप्टोमा पनि लगानी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।