images
images

जिरी अस्पतालको सेवा सुधारोन्मुख, ब्लड बैँक पनि खुल्यो

  • १५ फाल्गुन २०७९, सोमबार २१:००

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पातालमा रक्तसञ्चार केन्द्र (ब्लड बैँक) स्थापना भएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा आज जिरी अस्पातालमा ब्लड बैँक स्थापना गरिएकोे हो । सो सेवा तालिम प्राप्त कर्मचारी राखी आजैबाट सुरु भएको जिरी नगरपालिकाले जनाएको छ । ब्लड बैँकको जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले उद्धघाटन गर्नुभयो । योसँगै जिरी अस्पातालमा कुनै बिरामीलाई ब्लड आवश्यक परेमा सहजै उपलब्ध हुने भएको छ । यसअघि ब्लड बैँक नहुँदा ब्लड आवश्यक परेका बिरामीहरुलाई समस्या हुने गरेको थियो । स्वास्थ्यकर्मी र शल्यक्रिया गराउने विरामीले जोखिम मोल्दै आएका थिए । ब्लड बैंक सञ्चालनमा आएसँगै स्वास्थ्य सेवा दिवसको अवसरमा जिरी नगरपालिकाले आज रक्तदान कार्यक्रमको पनि आयोजना गरेकोे थियो ।

रक्तदान कार्यक्रममा एक महिला र ५ पुरुषले रक्तदान गरेका छन् । अब कुनै पनि बिरामीलाई ब्लड आवश्यक परेमा सो ब्लड बैंकबाट सहजै ब्लड प्रयोग गर्न सकिने जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनुभयो । पछिल्लो पटक जिरी अस्पतालको सेवामा सुधार हुँदै गएको अवस्थामा ब्लड बैंक पनि स्थापना गरिएको हो । आवश्यक दक्ष चिकित्सकहरुको परिपूर्ति भएपछि जिरी अस्पतालबाट शल्यक्रिया लगायतका अन्य सेवाहरु पनि सञ्चालनमा आएका छन् ।

आज पहिलो पटक ६ जनाले मात्रै रक्तदान गरेकाले अब समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गरी ब्लड जम्मा गर्न सकिने जनस्वास्थ्य अधिकृत दाहालले बताउनुभयो । उहाँका अनुसार त्यसको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी जिरी उपशाखाले गर्नेछ । यस्तै, आज जिरी नगरपालिकामा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस पनि मनाइएको छ ।