भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा धाँधली हुन नदिन प्रत्येक बुथ र वडा–वडामा तयारीका साथ जानुपर्ने बताएका छन् ।
स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न भए आफ्नो पार्टीलाई एक नम्बरको पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र बचाउन पनि यो चुनावमा नेकपाले जित्नुपर्ने आवश्यकता रहेको भन्दै प्रचण्डले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनु आवश्यक रहेको बताएका छन् ।
बुथ कब्जा हुन सक्ने आशङ्का
बुथ कब्जा हुन सक्ने र मतपेटिका फेरबदल हुन सक्ने आशङ्का गर्दै संयोजक प्रचण्डले कार्यकर्तालाई २४ सै घण्टा पहरेदारी गर्न निर्देशन पनि दिएका छन् ।
निर्वाचनका दिन कसरी मतदाताहरूलाई मतदान केन्द्रसम्म सुरक्षित ढङ्गले लैजाने,मतदान केन्द्रमा गएपछि कसरी मतदाताहरूलाई मतदान गर्न सहज, सफल र सही तरिकाले सिकाउने भन्नेदेखि बुथहरूको सुरक्षा र मतपेटिकाको सुरक्षासँग सम्बन्धित सवै कुराको विशेष ख्याल गर्न प्रचण्डले आग्रह गरेका छन् ।
सहयोग गर्न अपिल
नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले दुई अतिवादका विरुद्ध संघर्षको आवश्यकता मध्यनजर गरेर उत्पन्न परिस्थितिलाई नयाँ समाधान दिने उद्देश्यले नेकपा गठन गरिएको बताएका छन् ।
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान दिने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको प्रचण्डको भनाई छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने भन्दै प्रचण्डले सहयोग गर्न अपिल गरेका छन् ।










