images
images

नक्कली डलर कारोबारको प्रयासः कुटपिटबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु

  • १३ चैत्र २०७८, आईतवार १३:३९

काठमाडौं । सस्तोमा डलर दिने भन्दै कागज राखेर बिक्रि गर्न खोज्ने सिन्धुपाल्चोकका एक पुरुषको ग्राहककै कुटपिटबाट मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिका वडा नम्बर ४ का रमेश बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । बुढाथोकीले चैत २ गते समस्तोमा अमेरिकी डलर मिलाइदिने भन्दै कैलालीका विरेन्द्र बहादुर खड्का र मकवानपुरका सरेश न्यौपानेलाई भक्तपुरको चागुनारायणमा बोलाएका थिए । भक्तपुरका प्रहरी प्रवक्ता राजु पाण्डेका अनुसार १० लाख नेपाली रुपैँयाको अमेरिकी डलर साँट्न उनीहरु ८ लाख लिएर पुगेका थिए ।

डलर भएको पोको लिएपछि खड्का र न्यौपानेले भित्र हेर्दा कागज मात्रै भेटेपछि बुढाथोकीमाथि कुटपिट गरेका थिए । त्यस लगत्तै महानगरीय प्रहरी प्रभाग साँखुबाट तत्काल असई दिलिप खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले बुढाथोकीलाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको हो । असई खड्काले घटनास्थलको मुचुल्का गर्दा बराबदी रकममा डलर नदेखाएपछि उनी पनि अनुसन्धानमा तानिएका छन् । प्रहरीले बुढाथोकीमाथि कुटपिट गर्ने खड्का र न्यौपाने विरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।