दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले नदीमा पानीको बहावमा उत्तरचढाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
तामाकोशी जलविद्युत आयोजनाले आज सुचना जारी गर्दै तामाकोशी नदीमा सुक्खा याममा पानीको बहावमा उत्तरचढाव आउने भन्दै तामाकोशी नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो । तामाकोशी जलविद्युत् केन्द्रबाट प्रत्येक वर्ष सुक्खा याममा मंसिरदेखि जेठ महिनासम्ममा विहान ५ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि राति १० बजेसम्म राष्ट्रिय विद्युत् प्रणालीको आवश्यकताअनुसार पुरा क्षमताको विद्युत् उत्पादन गर्ने क्रममा जलविद्युत् केन्द्रको सिस्नेरीस्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रतिसेकेण्ड पानी निस्किई तामाकोशी नदीको बहावमा उत्तरचढाव आउने भएकाले सचेत हुन आग्रह गरिएको छ ।
आयोजनाले तल्लो तटीय क्षेत्रमा पार्ने जगत, टुनीटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह क्रमश बढ्दै जाने र पछि पुन घट्ने हुँदा तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु नगर्न र नगराउन अपिल गरेकोे छ ।