दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको छ ।
जिल्लामै पहिलो पटक तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुस्थित डाँडागाउँमा जेष्ठ नागरिक मिलन केन्द्र आजबाट सञ्चालनमा आएको हो । गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले आज एक कार्यक्रमका बिच ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्धघाटन गर्नुभएको हो । गाउँपालिकाको आन्तरिक बजेटबाट २०७५/७६ मा डिपिसि लेबलको काम सकेर २०७६÷७७ मा पुर्ण रुपमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सम्पन्न भएपनि कोभिडलगायतका कारण आजबाट मात्रै सञ्चालनमा ल्याइएकोे हो । गाउँपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न भएको सो घरमा ५ लाख बराबरको सामाग्रीहरु राखिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक मिलन केन्द्रमामा वृद्धावृद्धका लागि टेलिभिजन, बाद्यबाद्यकका सामान, पौराणिक किताब, बस्नका लागि उचित व्यवस्था गरिएको छ । जेष्ठ नागरिकहरुलाई दिनको समयमा उपस्थित गराएर भलाकुसारी गर्ने वातावरण बनाउने, भजन गाउने, पौराणीक किताव पढ्ने, पत्रपत्रीका उपलब्ध गराउने लगायतको व्यवस्थापन गरिएको छ ।
साथै नजिकै मालु स्वास्थ्य चौकी रहेकाले वृद्धवृद्धा नागरिकलाई दैनिक रुपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था पनि गरिएको वडा नम्बर ४ का वडाध्यक्ष होम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकहरुलाई चिया, तातोपानी खुवाउने तथा दैनिक रुपमा अन्य कार्यमा सहजिकरण गर्नका लागि सो घरमा एक जना कार्यालय सहयोगी समेत राखिएकोे छ । गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र घर सञ्चालनमा आएपछि स्थानीय वृद्धवृद्धालाई समय विताउन सहज हुने भएको छ भने भेटघाट गरेर भलाकुसारी गर्न, आपसमा रमाउन सक्ने वातावरण बन्ने भएको छ ।
यस्तै, गाउँपालिका अध्यक्ष पोखरेलले आज कृषि उपज तथा दुग्ध संकलन केन्द्र, स्वास्थ्य प्रयागशाला, गहते सामुदायिक स्वास्थ्य चौकी र नेवार संग्रहालयको पनि आज एकैदिन उद्धघाटन गर्नुभएको छ ।