images
images

दोलखाका तीन गाउँपालिकाले पाए ८ करोड ५५ लाख विद्युत रोयल्टी

  • १४ चैत्र २०८१, बिहीबार ०६:३७

दोलखा । दोलखाका तीन गाउँपालिकाले ८ करोड बढी बिद्युत रोयल्टीवापतको रकम पाएका छन् ।

जिल्लाको गौरीशंकर, बिगु र तामाकोशी गाउँपालिकाले ८ करोड ५५ लाख रुपैयाँ बिद्युत रोयल्टी वापतको रकम पाएका हुन् । तीन स्थानीय तहमध्ये गारीशंकर गाउँपालिकाले सबैभन्दा बढी ३ करोड ५७ लाख रुपैयाँ विद्युत रोयल्टी पाएको छ । यस्तै, बिगु गाउँपालिकाले ३ करोड २२ लाख र तामाकोशी गाउँपालिकाले १ करोड ७६ लाख रुपैयाँ बिद्युत रोयल्टीवापतको रकम पाएको हो ।

रोयल्टीमा सबैभन्दा ठूलो हिस्सा जलविद्युतको रहेको छ । स्थानीय तहले प्राप्त गरेको एक अर्ब ५७ करोडमध्ये जलविद्युत रोयल्टी मात्रै ८६ करोड ११ लाख रुपैयाँ रहेको छ । जलविद्युतबाट १४८ वटा स्थानीय तहले रोयल्टी प्राप्त गरेका छन् । १० वटा स्थानीय तहले १/१ लाखभन्दा पनि कम रोयल्टी पाएका छन् भने ७ वटा स्थानीय तहले तीन करोडभन्दा बढी रोयल्टी प्राप्त गरेका छन् ।

मुलुकभरका २५ वटा स्थानीय तहले ५० प्रतिशत बढी रोयल्टी पाएकोमा दोलखाका तीनवटा पालिकाले रोयल्टी रकम पाएका हुन् । मुलुकभरका २५ स्थानीय तहमध्ये सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाले सबैभन्दा बढी १४ करोड ६१ लाख रुपैयाँ पाएको छ । खुम्बु पासाङल्हामुले पर्यटन रोयल्टीवापत सो रकम पाएको हो ।

यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिकाले ११ करोड रुपैयाँ रोयल्टी पाएको छ । दोलखाका तीन स्थानीय तहले ८ करोड ५५ लाख रोयल्टी पाउँदा भोटेकोशी एउटै गाउँपालिकाले ११ करोड रुपैयाँ रोयल्टी पाएको हो ।

धेरै जलविद्युत आयोजना रहेको भोटेकोशीले ६ वटा जलविद्युतबाट सो बराबरको रकम पाएको हो ।
देश संघीयतामा गएपछि प्राकृतिक स्रोतको उपयोगका क्रममा संकलन गरिने दस्तुर (रोयल्टी) संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँट गर्ने गरिएको छ ।

अन्तरसरकारी बित्त व्यवस्थापन ऐन २०७४ मा प्राकृतिक स्रोतबाट उठेको रोयल्टीको ५० प्रतिशत हिस्सा संघमा रहन्छ भने बाँकी ५० प्रतिशत २५÷२५ प्रतिशत प्रदेश र स्थानीय तहले पाउने व्यवस्था छ ।