
काठमाडौँ । काठमाडौँ उपत्यकामा गणतन्त्रवादी र राजावादी समुहले एकैदिन प्रदर्शन गर्ने भएपछि सुरक्षा सतर्कता बढाईएको छ ।
दुवै पक्षलाई आमनेसामने हुन नदिन प्रशासनले अलग–अलग रणनीति बनाएको हो । गणतन्त्रवादी र राजावादीलाई आमनेसामने हुनै नदिने प्रशासनको रणनीति अनुसार दुवै पक्षलाई प्रदर्शनका लागि अलग–अलग स्थान तोकिएको छ । गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्न भनिएको छ ।
पूर्वराजा समर्थकलाई चक्रपथ भन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरि सुरक्षा रणनीति तयार गरिएको छ भने समाजवादी मोर्चा समर्थक सवार गाडीलाई कोटेश्वरबाट बालकुमारीतर्फ डाईभर्सन गरेर पठाईने भएको छ । समाजवादी मोर्चाले बबरमहलबाट माईतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरि रुट तय गरेको छ ।
३५ सय प्रहरी खटाउने योजना
आवश्यक सुरक्षा र सम्भावित मुठभेडलाई नियन्त्रण गर्न तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरिने भएको छ । प्रहरी वरिष्ठ उपरिक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने योजना रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी विश्व अधिकारीले गर्ने भएका छन् भने प्रदर्शन स्थलमा एसपी अपिल बोहरा खटिनेछन् । आवश्यकता अनुसार एसएसपी अधिकारीले कमाण्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने गरि तयारी गरिएको छ ।
सुरक्षा व्यवस्थापनका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा कमाण्ड सेन्टर स्थापना गरिएको छ । कमाण्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।
दुई परस्पर विचारधाराका गणतन्त्रवादी र राजावादीले भोली एकैदिन एकै समयमा काठमाडौँ उपत्यकामा प्रदर्शनको तयारी गरेका छन् । उपत्यकाका विभिन्न स्थानबाट नारा जुलुससहित सभा गर्ने दुवै पक्षको तयारी छ ।