images
images

मुस्ताङ एयरको हेलिकोप्टरमा वैंक र हाइड्रोका कर्मचारी विहानै अवतरण, काठमाडौं उडेपछि सम्पर्कविहिन

दोलखाको लप्चिवाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको ‘९ एन एएनओ’ हेलिकोप्टरमा क्याप्टेनसहति पाँच जना रहेको खुलेको छ ।

आज विहान काठमाडौंवाट लप्चिकालागि उडेको उक्त हेलिकोप्टरमा सुरजन थापा र अन्य चार जना यात्रु रहेको खुलेको हो ।

हेलिकोप्टरमा वैंक र हाइड्रोका कर्मचारी

दोलखामा निर्माणाधिन अपर लप्चि हाइड्रोको कामकालागि काठमाडौंवाट उडेको हेलिकोप्टरमा हिमालयन वैंक र कुमारी वैंकका दुई जना सिनियर कर्मचारी र लप्चि हाइड्रोका एक जना कर्मचारी र अर्का एक जना प्राविधिक रहेको बुझिएको छ ।

तर, उनीहरुको नाम खुल्न भने बाँकी रहेको छ । दिउँसो करिव पौने एक बजे लामावगरको लुम्नाङमा अवतरण गरेका उनीहरु खाना आएर लप्चि गुम्वा हुँदै काठमाडौंकालागि उडेपछि  हेलिकोप्टर सम्पर्कविहिन अवस्थामा छ । तर, स्थानीयले भने मौसम प्रतिकुल भएका कारण लप्चि आसपासकै क्षेत्रमा आकस्मिक अवतरण गरेको हुनसक्ने बताएका छन् ।

खराव मौसम र मोवाइल नेटवर्क नहुँदा समस्या

लप्चि क्षेत्रमा मानव वस्ती भन्दा टाढा ठूला–ठूला घाँसे मैदानहरु छन् । तर, उक्त क्षेत्रमा टेलिफोन नेटवर्क नटिप्ने र मौसम समेत निकै खराव रहेका कारण यथार्थ विवरण आउन सकेको छैन ।

दोलखाको स्थानीय प्रशासन र प्रहरी समेत हराएको हेलिकोप्टर बारे बेखवर छ । लप्चि हाइड्रोले समेत घटनाका बारेमा जानकारी पाउन नसकेको प्रतिक्रिया दिएको छ ।

खोजतलाशमा सेनासहितको टोली खटियो

हराइरहेको हेलिकोप्टर खोजतलाशकालागि नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ । चरिकोटस्थित गरुण दल गणका गणपति (कर्णेल) लोकसागर कटुवालले लामावगरको इलुकमा रहेको नेपाली सेनाको टोली खोजतलाशकालागि लप्चितर्फ खटिएको जानकारी दिएका छन् ।

कर्णेल कटुवालका अनुसार सेनाका लेफ्टिनेन्टको कमाण्डमा २५ जनाका सैनिक टोली तीन समूह बनाएर खोजतालशमा खटिएको हो । उक्त टोली करिव डेढ घण्टामा लप्चि पुग्ने नेपाली सेनाले जनाएको छ ।

सुरक्षित रहेको अनुमान

नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्पर्कविहिन हेलिकोप्टरको ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर’  अहिलेसम्म एक्टिभ भएको छैन । यो एक्टिभ नभएका कारण लामावगरको लप्चि आसपासकै क्षेत्रमा हेलिकोप्टर सुरक्षित रहेको अनुमान गरिएको छ ।

हेलिकोप्टर दुर्घटना हुँदा तत्काल ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर’ एक्टिभ हुने गर्दछ ।