काठमाण्डौं । स्थानीय तह निर्वाचनमा बागमती प्रदेशमा १२ हजार भन्दा बढी म्यादी प्रहरी परिचालन गरिएको छ ।
यहि वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बागमती प्रदेशमा १२ हजार १ सय ८६ जना म्यादी प्रहरी परिचालन गरिएको हो । स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले देशभर म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९ सय ९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले जानकारी दिनुभयो ।
मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्या म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा बढी २१ हजार म्यादी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकामा ४ हजार ७ सय ११ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।