images
images

बर्दीभित्रको कालो धन्दा: ३ लाखको डिल गर्ने ‘सेलिब्रेटी’ हवलदार अख्तियारको फन्दामा

  • १४ बैशाख २०८३, सोमबार ०६:४६

भक्तपुर । हिजोसम्म कास्की प्रहरीको ‘शान’ बनेर सम्मान थाप्ने हातमा आज हत्कडी लागेको छ ।

पुस महिनामा “इमानदार र कर्तव्यनिष्ठ” भन्दै उत्कृष्ट प्रहरीको ट्याग भिरेका कास्कीका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेका हुन् । पुस महिनामा मात्रै आफ्नो कर्तव्यनिष्ठा र उच्च व्यावसायिक सुझबुझका लागि ‘उत्कृष्ट प्रहरी’ घोषित भएर सम्मानित भएका थिए ।

तर, हिजोसम्म सहकारी ठगी र सम्पत्ति शुद्धीकरण जस्ता जटिल अपराधको अनुसन्धानमा अब्बल ठहरिएका तिनै थापा लागू औषधको मुद्दा मिलाइदिने प्रलोभनमा ३ लाखको डिल गरी ५० हजार घुस बुझ्दै गर्दा पक्राउ परेका हुन् । नवलपुरको अरुणखोलामा दरबन्दी भए पनि शक्तिको आडमा लामो समयदेखि कास्कीको मुद्दा फाँटमा अड्डा जमाएका थापामाथि सेवाग्राहीलाई दुःख दिने, फाइल लुकाउने र बार्गेनिङ गर्ने गरेको गम्भीर आरोप लाग्दै आएको थियो ।

प्रधानमन्त्री कार्यालयदेखि सतर्कता केन्द्रसम्म उजुरीको चाङ लागे पनि पहुँचकै भरमा जोगिँदै आएका थापाको यो गिरफ्तारीले एकातिर प्रहरीको पुरस्कार छनोट प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ भने अर्कोतिर बर्दीको आडमा हुने कालो धन्दाको पर्दाफास गरिदिएको छ ।