बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल -अन्जु) ले लन्डन म्याराथनमा मौलिक नेपाली पहिरन गुन्यू चोलीमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन् ।
एबोट वर्ल्ड च्याम्पियनसीपले आयोजना गर्ने विश्वका ठूला म्याराथन लन्डन, बर्लिन, बोष्टन, न्यूयोर्क, सिकागो, टोकियो र सिड्नी पार गरिसकेकी अन्जुले यसपटक गुन्यू चोलीमा दौडिएकी हुन् ।
लन्डन म्याराथनमा सातौंपटक सहभागिता जनाएकी अन्जुले केही साताअघि सात दिनमा नेपालको सातवटा प्रदेशमा सात म्याराथन समेत पूरा गरेकी थिइन् ।
उनले नेपालमा फेब्रुअरी १४ देखि २१ सम्म सञ्चालन भएको ‘७७७ म्याराथन च्यालेन्ज’ प्रतियोगिता सफलतापूर्वक पूरा गरी यस्तो दौड पूरा गर्ने प्रथम नेपाली महिला बनेकी छन् ।
२०१९ को कोभिड महामारीबाट म्याराथन यात्रा सुरु गरेकी अन्जुले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन र यूकेको सबैभन्दा कठिन मानिने वेल्सको स्नोडोनिया १०० किमी ट्रेल रन समेत पूरा गरिसकेकी छन् ।










