images
images

बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा सुरु

  • १३ जेष्ठ २०७९, शुक्रबार १८:१६

हेटौंडा । बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको छ।

यसअघि बागमती प्रदेशमा सत्तारुढ ५ दलिय गठबन्धनको नेतृत्वमा सरकार गठन हुँदाको सहमति अनुसार प्रदेश सरकार परिवर्तनको चर्चा सुरु भएको हो । सो सहमति अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट पास भएलगत्तै बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । सत्ता गठबन्धन दलहरुको सहमति बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेसका नेताहरुले बताएका छन् । गत कात्तिक ११ गते नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्दै सत्ता गठबन्धनका दलहरुले प्रदेश सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाएका थिए । पाण्डेले गत भदौ २ गते नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई विस्थापित गरेका थिए ।

शाक्यले गत कात्तिक १० गते सदनबाट विश्वासको मत लिने तयारी गरेपनि विश्वासको मत नपाउने भएपछि संसदबाटै राजीनामाको घोषणा गरेकी थिइन् । सोही दिन गठबन्धनको समर्थनमा एकिकृत समाजवादीका पाण्डेले मुख्यमन्त्रीमा दाबि गरेका थिए भने कात्तिक ११ गते सपथ लिएका थिए । बागमती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले नपाउने भएपछि कांग्रेस र एकिकृत समाजवादीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । अहिले यसअघिको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व आफुले पाउनुपर्ने कांग्रेसको माग छ ।