images
images

बागमती प्रदेशसभाको बैठक बस्दै, बजेट संशोधन गर्न एमालेको माग

  • १३ असार २०७९, सोमबार ०९:३०

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे बस्नेछ । प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरुपमा सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेले हिजोको बैठक अवरुद्ध गरेको थियो । मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्दै बजेट संशोधन नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले हिजोको बैठक स्थगित गरेका थिए । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको थियो। एमालेका सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट जनहितमा नभएको भन्दै आइतबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् । प्रदेश सरकारले प्रतिपक्ष दल र बहुमत सांसदलाई व्यवस्था गर्दै विना छलफल ल्याएको बजेट अहितकारी भएको र अघिल्ला सरकारले ल्याएका सबै वृहत योजनाहरु कटौती गरेर टुक्रे योजना ल्याएकाले बजेट पुस्तिका फिर्ता गरेको बताइएको छ ।