रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका तीन जना किशोरीको परिवारलाई राहत दिने भएको छ ।
पालिकाले बिहीबार राति पहिरोमा परी मृत्यु भएका गोकुलगंगा–६ फर्पुका तीन किशोरीका परिवारलाई राहत उपलब्ध गराउने भएको हो । प्रति मृतक बराबर ६५ हजारका दरले पालिकाले राहत उपलब्ध गराउने जनाएको छ । पालिका अध्यक्ष काजिबहादुर खड्का (दिनेश)को अध्यक्षतामा आज बसेको कार्यपालिको बैठकले उक्त निर्णय गरेको पालिका प्रवक्ता एव् वडा नम्बर ६ का अध्यक्ष चन्द्रबहादुर सुनुवारले बताउनुभयो ।
बाढी पहिरोका कारण पालिकाभर भएको क्षति र सम्भावित क्षतिको बारेमा वडा र विपद् व्यवस्थापन समितिले स्थानीय प्रहरीसँगको सहयोगमा प्राविधिक विवरण तयार गरी त्यसको व्यवस्थापनमा लाग्ने गोकुलगंगा गाउँपालिकाले जनाएको छ । पीडित परिवारलाई अन्य संघ/ संस्थाहरुले समेत सहयोग गर्ने क्रम जारी छ ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुमा अविरल वर्षासँगै बिहिबार राती बिमान तामाङको घर माथिबाट झरेको पहिरोमा पुरिएर बिमानकी १८ वर्षीया छोरी सिता तामाङ, पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र बिमानको जेठा छोरा पदम तामाङकी छोरी लक्ष्मी तामाङको मृत्यु भएको थियो ।