काठमाण्डौ । नेकपा एकीकृत समाजवादीमा १८ जना पदाधिकारी छान्न आजदेखि चुनावी प्रक्रिया शुरू भएको छ ।
सर्वसम्मतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव प्रक्रिया शुरू भएको हो । आज दिउँसो २ बजेदेखि मतदान शुरू हुनेछ । एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । गत असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत हुनुभएको थियो ।
यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको थियो । एकीकृत समाजवादीले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । जसमा वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ । यसैगरी उपमहासचिव पदमा राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र लक्ष्मण केसी गरी चार जनाको उम्मेदवारी परेको छ ।
सचिव पदका लागि दोलखाका नेता शिव प्रसाद भण्डारीको पनि उम्मेदवारी परेको छ । पार्टीका निवर्तमान पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज भण्डारीले सचिव पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ दोलखाका पुराना नेता हुनुहुन्छ ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो चयन गर्ने छन् ।