काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा मात्रै ४ अर्ब १९ करोड बढीको विद्युत निर्यात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ विद्युत भारत निर्यात भएको हो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने भएकाले विद्युत बिक्रीबाट २ अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगेको बताउनुभयो ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ ।