दोलखा (जिरी) । दोलखाको विगु गाउँपालिकामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
विगु गाउँपालिका–१ लामाबगर घर भएका ७१ वर्षीय रामकुमार श्रेष्ठको लामाबगरको सिस्नेरीमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विगु –१ का वडा अध्यक्ष मेम बहादुर तामाङले जानकारी दिनुभयो । आज विहान करिब ७ बजे घाँस काट्न घरबाट निस्कएका उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा लामाबगरको सिस्नेरीमा मृत फेला परेको दोलखा प्रहरीले जनाएको छ । नजिकै चप्पल र नाम्लो राखी चिउरीको घाँस काट्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको स्थानियले बताएका छन् ।
उनी स्थानीय यादव प्रसाद आर्चयको घरमा विगत ३० वर्षदेखि काम गर्दै आइका थिए । उनको शव अहिले पोष्टमार्टमको लागी पशुपति चौलागाई स्मृति अस्पताल ल्याउने तयारी भैरहेको छ ।