जिरी (दोलखा) । दोलखामा रहेको जिरी सामुदायिक एफएम आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ ।
जिरी नगरपालिकामा रहेको जिरी सामुदायिक एफएम ९४ मेगाहर्ज आजदेखि ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको हो । २०७५ साल असोज ११ गते अर्थात आजकै दिनबाट जिरी एफएमको प्रशारण सुरु भएको थियो ।
विश्व पर्यटन दिवसको अवसर पारेर प्रशारण सुरु गरिएको जिरी एफएम दोलखा, रामेछाप, ओखलढुँगा र सोलुखुम्वुका उत्तर पूर्वी गाउँवस्तीहरुलाई लक्षित गरेर स्थापना गरिएको थियो ।
जिरी एफएमले विहान सवेरैदेखि राति अवेरसम्म दैनिक १७ घण्टा प्रसारण गर्दै आएको छ । यस रेडियोमा समाचार, समाचारमुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु नियमित रुपमा प्रसारण हुने गर्दछ ।
जिरी एफएमका अध्यक्ष लक्ष्मण खड्काले बिज्ञप्ति जारी गरी जिरी एफएमलाई साथ, सहयोग र माया गर्ने आम श्रोता, बिज्ञापनदाता, सरकारी तथा गैरसरकारी कार्यालय लगायत सवैलाई हार्दिक आभार एवँ धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले आगामी दिनमा पनि रेडियोको संस्थागत विकासमा सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ ।
जिरी एफएमको प्रसारणलाई रेडियो र मोवाइल सेटमा अडियो मार्फत सुन्नुको साथै भिडियो र पोडकास्ट मार्फत सामाजिक सञ्जालमा पनि हेर्न सकिन्छ ।