images
images

वर्षाले देशभरको जनजीवन प्रभावित, आइतवारसम्मै मौसम बदली हुने

  • ११ आश्विन २०८१, शुक्रबार १८:००

काठमाडौं । मुलुकभर लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ ।

गएरातिदेखिको लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको हो । चाडपर्वको मुखमा मौसम प्रतिकुल बन्दा समस्या भएको छ । यो क्रम आगामी आईतबार सम्मै जारी रहने मौसमविदहरुले जनाएका छन् । वर्षाका कारण काठमाडौँ उपत्यका सहित मुलुकका विभिन्न नदीहरुले खतराको तह पार गरेका छन् भने बाढी पहिरोका कारण कतिपय लोकमार्ग अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण जोखिम बढेपछि आज र भोली दुई दिन रात्रीबाहक बस नचलाउन समेत भनिएको छ । निरन्तर परेको वर्षाका कारण विभिन्न लोकमार्गहरुमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

लामो यात्रा नगर्न आग्रह

लगातार वर्षा भईरहेको भन्दै गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज दैनिक विपद् बुलेटिन सार्वजनिक गर्दै आइतबारसम्म वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेक घरदेखि टाढाको यात्रा नगर्न आग्रह गरेको हो । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु बढी प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

आइतबारसम्म वर्षा हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आजदेखि आइतबारसम्म वर्षा हुने जनाएको हो । नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएकाले वर्षा भएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । आज दोलखा, सिन्धुपाल्चोक तथा काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाहरुमा मध्यमदेखि भारी वर्षा भएको विभागले जनाएको छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।

दिउँसोको तुलनामा राति बढी वर्षा हुने सम्भावना

दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्ला भई बहने केही साना नदीमा समेत बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज र भोली देशभरका नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् अधिकारीका अनुसार काठमाडौँमा आज दिउँसोको तुलनामा राति बढी वर्षा हुने सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले कोशी, बागमती, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदी खतराको तहमा

लगातारको वर्षाका कारण मुलुकभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्याधिक बढिरहेको मौसम विज्ञान विभागले जनाएको छ । देशभर मनसुन सक्रिय हुँदा सिन्धुपाल्चोकको मेलम्चीस्थित नाकोटे सहित विभिन्न नदीमा बाढी खतराको तहमा पुगेको छ । काठमाडौँ उपत्यकाका बागमती, मनोहरा, विष्णुमती लगाएतका नदीमा बाढी खतराको तहमा पुगेको हो । नदीले खतराको तह पार गर्न लागेपछि विभागले नदी तथा खोला आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित ड्याम भरिने अवस्थामा पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । गृह मन्त्रालयले मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेको भन्दै सचेत रहन आग्रह गरेको हो । गएरातिदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरुमा जलसतह ह्वात्तै बढेको छ ।