images
images

बागमती प्रदेशमा प्रदेशसभातर्फ दोलखा बाहेकका सबै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

  • ११ मंसिर २०७९, आईतवार १०:५६

जिरी (दोलखा) । बागमती प्रदेशमा प्रदेशसभातर्फ दोलखा बाहेकका सबै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

आज विहानसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६४ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हो । यो सँगै अब दोलखाको २ वटा क्षेत्रको मात्रै गणना बाँकी रहेको छ । बागमती प्रदेशमा दोलखाको दुई निर्वाचन क्षेत्रको मात्रै मत गणना बाँकी रहँदा ४१ स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ६४ मध्ये २३ स्थानमा जित्दै प्रत्यक्षतर्फ प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । माओवादीले १४ तथा एकीकृत समाजवादीले ५ स्थानमा जित निकालेका छन् ।

यस्तै, १३ स्थानमा एमाले, सातमा राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी १/१ स्थानमा विजयी भएका छन् । रामेछापमा दुई प्रदेशक्षेत्र रहेकोमा दुवै सिटमा गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्रका)का उम्मेदवार विजयी भएका छन् । यस्तै, सिन्धुलीका चारै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सिन्धुपाल्चोकमा पनि गठबन्धनले क्लिन स्विप गरेको छ । काभ्रेका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ललितपुरका ६ मध्ये चार क्षेत्रमा एमाले तथा दुईमा कांग्रेस उम्मेदवार विजयी भएका छन् भने भक्तपुरका चार क्षेत्रमध्ये २ मा गठबन्धनका उम्मेदवार, १ मा एमाले र १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका छन् ।

यसैगरी, काठमाडौंमा प्रदेशका २० सिटमध्ये आठ सिटमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच स्थानमा राप्रपा, चार सिटमा एमाले तथा दुई स्थानमा एकीकृत समाजवादी र एक स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार विजयी भएका हुन् । मकवानपुरको चार प्रदेश क्षेत्रमध्ये तीनमा गठबन्धनका र एकमा एमाले उम्मेदवार निर्वाचिन भएका छन् ।

नुवाकोटका ४ सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने रसुवाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारले जित निकालेका छन् । धादिङको चारमध्ये तीन सिटमा गठबन्धन विजयी भएको छ । चितवनका ६ मध्ये तीन सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो सँगै बागमती प्रदेशमा सरकार बनाउन सत्ता गठबन्धनले सहज बहुमत ल्याउने सम्भावना बढेको छ ।