images
images

मिर्गेमा कसरी हरायो १०० थान मतपत्रको अर्धकट्टी ?

  • ११ मंसिर २०७९, आईतवार २०:०२

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर ३ मिर्गेमा सय थान मतपत्रको अर्धकट्टी हराएपछि मतदान रद्ध गरिएको छ ।

निर्वाचन आयोगले बैतेश्वर ३ स्थित कालिढुंगा माध्यमिक विद्यालयमा भएको मतदान रद्ध गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनका दिन मंसिर ४ गते मतदान सञ्चालन गर्ने क्रममा अत्याधिक भिडभाड हुँदा अनियन्त्रित भिडलाई तितरवितर पार्ने क्रममा केन्द्र ‘ख’ मा १०० थान मतपत्रको अर्धकट्टी हराएको भन्दै मतदान अधिकृत दिपेन्द्र कुमार झाले मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठलाई प्रतिवेदन पेश गरेका थिए । जसमा ००७२९०१ देखि ००७३००० सम्मको १०० थान अर्धकट्टी हराएकोे उल्लेख छ । सोही कारण निर्वाचन आयोगले कालिढुंगाको ‘क’, ‘ख’ र ‘ग’ केन्द्रमा मंसिर ४ गते भएको मतदान रद्ध गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको अध्ययन टोलीले सो मतदान केन्द्रमा मतपत्रको अर्धकट्टी हराउनु बाहेकका अन्य कुनै कैफियत नरहेको भन्दै पुनः मतदान गराउनु नपर्ने सहितको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त समक्ष पेश गरेपनि आयोगले आज फेरी निर्वाचन गर्ने अन्तिम निर्णय गरेको छ । अध्ययन टोलीले सो केन्द्रको मतलाई कानुन बमोजिम गणना गर्न मानसिव हुने बताएकोे थियो । कालिढुंगा मतदान केन्द्रमा २ हजार ६ सय ६४ मतदाता रहेकोमा २ हजार ४ सय ९ मत खसेको थियो ।

आयोगले बैत्यश्वरको वडा नं ६ को (क,ख,ग), बैत्यश्वर २ को जनज्योति माविको (क र ख) तथा तामाकोसीको जामुने हेल्थपोस्ट मतदान स्थलको (क र ख) केन्द्रमा पनि पुन निर्वाचन गर्ने निर्णय गरेको छ । कालिढुंगा मावि बाहेका यी मतदान केन्द्रहरुमा आयोगले स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन नसकेको ठहर गरेको छ ।

कालिढुंगा मावि मतदान केन्द्रमा भने अर्धकट्टी हराएकै कारण पुनः निर्वाचन हुन लागेको आयोगले सार्वजनिक गरेको निर्णय प्रतिवेदनले देखाएको छ ।