images
images

बागमती प्रदेशका पाँच जिल्लामा गठबन्धनका उम्मेदवारको ‘क्लिन स्विप’

जिरी (दोलखा) । बागमती प्रदेशका पाँच जिल्लामा गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेश सभामा क्लिन स्विप गरेका छन् ।

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रसुवामा गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एउटा र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको रामेछापको परिणाम आज विहान मात्रै सार्वजनिक भएको छ । यो सँगै पाँच जिल्लामा गठबन्धनका उम्मेदवारले क्लिन स्विप गरेका छन् । रामेछापको अन्तिम मत परिणाम अनुसार गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभाको दुवै निर्वाचन क्षेत्रमा जित निकालेको छ । रामेछापबाट प्रतिनिधिसभामा कांग्रेसका पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र क्षेत्र नम्बर २ मा पनि माओवादीकै युवराज चौलागाई विजयी भएका छन् । यसैगरी, सिन्धुलीमा पनि गठबन्धनले क्लिन स्विप गरेको छ ।

सिन्धुपाल्चोकमा पनि गठबन्धनको प्यानल विजयी भएको छ । प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा र क्षेत्र नम्बर २ तर्फ नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत निर्वाचित भएका छन् । प्रदेशसभातर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र १ (क) मा कांग्रेसकी मसिना खड्का, क्षेत्र १ (ख) मा माओवादीका सरल सहयात्री पौडेल र क्षेत्र २ को (क) मा माओवादीका युवराज दुलाल तथा क्षेत्र २ को (ख) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रसुवामा गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एउटा र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको रामेछापको परिणाम आज विहान मात्रै सार्वजनिक भएको छ । यो सँगै पाँच जिल्लामा गठबन्धनका उम्मेदवारले क्लिन स्विप गरेका छन् । बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्ला बाहेकको सबै जिल्लाको अन्तिम परिणाम सार्वजनिक भएपनि दोलखाको बाँकी रहेको हो । निर्वाचन आयोगले दोलखाको १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्यमा सिन्धुली–१ बाट नेपाली कांग्रेसका श्याम कुमार घिमिरे र सिन्धुली–२ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पनि सिन्धुलीका चारै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सिन्धुली क्षेत्र नम्बर १ (क) मा माओवादीका मातृका प्रसाद भट्टराई, सिन्धुली क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका राम कुमार पहाडी, सिन्धुली क्षेत्र नम्बर २ (क) मा कांग्रेसकै छेत्र बहादुर बम्जन र सिन्धुली क्षेत्र नम्बर २ (ख) मा माओवादीका गंगा नारायण श्रेष्ठ चुनिएका छन् ।

नुवाकोटमा पनि सबै क्षेत्रमा गठबन्धन दलका उम्मेदवारले जित हात पारेका छन् । प्रतिनिधिसभामा नुवाकोटबाट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हित बहादुर तामाङ र क्षेत्र २ मा कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् । नुवाकोटमा प्रदेशसभातर्फ ४ सिट रहेको छ । जसमा निर्वाचन क्षेत्र १ (क) मा माओवादीकी राधिका तामाङ, क्षेत्र १ (ख) मा कांग्रेसका रमेशकुमार महत र क्षेत्र नम्बर २ को (क) मा माओवादीका रामप्रसाद ढुंगाना र २ को (ख) मा कांग्रेसका बहादुरसिंह तामाङ निर्वाचित भएका छन् ।

यसैगरी, रसुवामा पनि गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य चुनिएका छन् । प्रदेशसभातर्फ रसुवा क्षेत्र नम्बर १ (क) मा कांग्रेसका प्रभात तामाङ र क्षेत्र १ (ख) मा माओवादीका इन्द्र प्रसाद गोतामे विजयी भएका छन् ।

काभ्रेपलाञ्चोकमा भने प्रदेश सभामा गठबन्धनका चारैजना विजयी भए पनि प्रतिनिधिसभाको दुईमध्ये एक सिटमा एमाले विजयी भएको छ । बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्ला बाहेकको सबै जिल्लाको अन्तिम परिणाम सार्वजनिक भएपनि दोलखाको बाँकी रहेको हो । निर्वाचन आयोगले दोलखाको १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।