जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित रामबोले मेलामा युवाहरुबीच कुटाकुट भएको छ ।
जिरी नगरपालिका–८ स्थित रामबोलेको कालिदेवी मन्दिरमा लाग्ने मेलामा युवाहरुबीच कुटाकुट भएको हो । सो क्रममा बैतेश्वरका दुई युवकको कुटपिटबाट जिरीका दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिरी नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय छिरिङ शेर्पा र उनका दाई २७ वर्षीय हेनर्बु शेर्पा रहेका छन् । आज विहान करिब १ बजे बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीका जियाङ घिसिङ र सागर घिसिङले उनीहरुलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक शरण महर्जनले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइतेहरुलाई जिरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । कुटपिटमा संलग्न गैरीमुदीका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरु दुई जना पनि दाजुभाई हुन् ।
केही दिनदेखि भव्य मेला लगिरहेको कालिवेदी मन्दिरमा माधक पदार्थ सेवन गरेका उनीहरुबीच झगडा भएको स्थानीयले बताएका छन् ।