images
images

सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसदद्धारा एक वर्षको प्रगति सार्वजनिक

  • ११ मंसिर २०८०, सोमबार १२:३८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट निर्वाचित चार जना नेकपा माओवादी केन्द्रका सांसदले एक वर्षको प्रगति सार्वजनिक गरेका छन् ।

सिन्धुपाल्चोकबाट संघीय संसद र बागमती प्रदेशसभामा निर्वाचित चार जना सांसदले आज पत्रकार सम्मेलन गरी एक वर्षको प्रगति सार्वजनिक गरेका हुन् । जसअनुसार सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा (सुबोध), प्रदेशसभामा निर्वाचित युवराज दुलाल (शरद), सरल सहयात्री पौडेल र समानुपातिकतर्फ निर्वाचित अमृता नेपालले एक वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् । संघीय सांसद सापकोटाले निर्वाचनका बेला जारी गरिएको प्रतिबद्धता अनुसार प्रगति विवरण सार्वजनिक गर्दै २०७२ सालको भूकम्पपछि बन्द रहेको प्रमुख व्यापारिक तातोपानी नाका सूचारु गर्ने र लिपिङ क्षेत्रको बजारीकरणबारे सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

नेपालका युवाहरुले भोग्नु परेको पीडा, बेरोजगारी, युवाहरु रोजगारीका लागि विदेशीनु पर्ने बाध्यतासहित युवाहरुको विषय संसदमा उठान गरेको उहाँले बताउनुभयो । यस्तै, जुगल गाउँपालिकामा सम्भाव्यताको आधारमा जडीबुटी प्रशोधन केन्द्रको स्थापनाको काम अघि बढाइएको र सुकुटेलाई पर्यटकीय विकासका लागि चौतार साँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका बागमती प्रदेशसभाका सांसद दुलालले चौतारा टुंडिखेलमा निर्माणाधीन रंगशालाको काम सुचारु, चौतारा मेलम्ची सडकको स्तरोन्नति र कालोपत्रको काम अघि बढेको बताउनुभयो । १५ बेडको चौतारा अस्पताललाई ५० बेडको बनाउने लगायतका महत्वपूर्ण कार्य भएको, बागमती प्रदेशमा विद्युतीय ट्याक्सी सञ्चालनको अनुमति प्रदान गरिएको लगायतका कामको विवरण उहाँले सार्वजनिक गर्नुभयो । यसैगरी, सांसद नेपालले बागमती प्रदेशसभामा सम्बन्धित समिति र निर्वाचन क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्नुभएको छ ।