images
images

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार हुने

  • १२ मंसिर २०८१, बुधबार १५:२१

काठमाडौं । क्षमता भन्दा बढी यात्रु र सामान बोकेर सवारी सधान दुर्घटना भएमा स्थानीय प्रहरी प्रमुखले जिम्मेवारी लिनुपर्ने भएको छ ।

ओभरलोडका कारण सवारी दुर्घटना भएको पाईएमा ती सवारीले पार गरेको अन्तिमको प्रहरी ईकाई प्रमुख जिम्मेवार हुनुपर्ने भएको हो । स्थानीय स्तरमा सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकेको पाईएमा स्थानीय प्रहरीले कडाईका साथ कारबाही गर्नुपर्नेछ । प्रहरीको लापरबाहीका कारण सवारीसाधन दुर्घटना भए त्यसको विभागीय जिम्मेवारी स्थानीय प्रहरी ईकाई प्रमुखले लिनुपर्ने भएको हो ।

गृहमन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासँघ लगाएत मातहतका निकायलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यसअघि सरोकारवालाहरुको बैठकले सवारीसाधनले क्षमताभन्दा धेरै मालसामान र यात्रु बोक्ने, यात्रु बोक्नेले मालसामान तथा मालसामान बोक्नेले यात्रु बोक्दा जोखिम बढेको भन्दै नियमित जाँच गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

साथै तीव्र गतीमा सवारी चलाउने, टिकट बिनै यात्रा गराउने तथा सवारी साधनको यन्त्रिक स्थिति र स्वरुपको परीक्षण भए नभएको लगाएत प्रचलित सवारी कानुनमा उल्लेखित विषयमा समेत प्रहरीले नियमित जाँच गर्ने निर्णय गरिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले मातहतका नियकालाई परिपत्र गरेको हो ।