दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतको सरुवा भएको छ ।
कालिञ्चोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बस्नेतको करिब साँढे पाँच महिनामै सरुवा भएको हो । बस्नेतको सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा सरुवा भएको छ । बस्नेत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट गत जेठ २७ गते कालिञ्चोक गाउँपालिका आएका थिए ।
कालिञ्चोकका यसअघिका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालको गत जेठ १८ गते सरुवा भएपछि बस्नेतले जेठ २७ गते जिम्मेवारी सम्हालेका थिए । बस्नेतको सरुवा भएपछि कालिञ्चोकको प्रमुख प्रशासकीय अधिकृतमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाबाट पवनकुमार प्याकुरेल आउने भएका छन् ।
कालिञ्चोक गउँपालिका आएका अधिकांश प्रमुख प्रशासकीय अधिकृतहरुको छोटो समयमै सरुवा हुने गरेको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत रिजालको पनि जिम्मेवारी सम्हालेको तीन महिनामै सरुवा भएको थियो ।
२०८० फागुन २० गते कालिञ्चोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका रिजालको जेठ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो ।