काठमाडौँ । फार्मेसी सञ्चालकलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा काभ्रेपलाञ्चोकका दुई सहित तीन जना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका घर भई स्वयम्भु बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जी तथा ईलाम घर भई नयाँथिमी बस्ने २५ वर्षीया समृद्धि मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दीपेन्द्र र वर्षा दाजु बहिनी हुन् । उनीहरुले भक्तपुरका ३३ वर्षीय एक फार्मेसी सञ्चालकलाई अनलाईनमार्फत घाउ ड्रेसिङ गर्न भन्दै बोलाएर हनिट्रयापमा पारी रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आरोपीहरुले बलत्कार मुद्धामा फसाउने भन्दै पीडितसँग ५० हजार नदग र ७५ हजारको चेक लिएको पाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुबीच १८ लाखबाट बार्गेनिङ सुरु भई ८ लाख लेनदेन गर्ने सर्तमा सहमति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले हनीट्रयाप धन्दा सञ्चालन गर्न भक्तपुरमा कोठा भाडामा लिएको भेटिएको छ ।
फार्मेसी सञ्चालकले अनलाईन मार्फत घरघरमा ड्रेसिङ सेवा दिँदै आएका थिए । उनीहरुलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तीनै जनालाई आपराधिक लाभ सम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको छ ।