काठमाडौं । भक्तपुरमा काभ्रेपलाञ्चोकी महिलालाई रक्सी खुवाएर गहना लुट्ने क्रममा ४ जना पक्राउ परेका छन् ।
पक्रउ पर्नेमा रामेछाप दोरोम्बा गाउँपालिका–७ घर भई हाल भक्तपुको मध्यपुर ठिमी नगरपालिका–६ सिद्धिकाली बस्ने २७ वर्षीय चेत बहादुर विक, सोही स्थानकी २५ वर्षिया सानु कोइराला विक दोलखाको जिरी घर बताउने १९ वर्षकी माया भनिने सविता कोइराला विक रहेका छन् ।
यसैगरी लुटपाट गरेको सुन किन्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमि नगरपालिका–६ स्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक ४४ वर्षका राजिन सुनार पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उनीहरुले काभ्रेपलाञ्चोकको पनौति नगरपालिका–३ स्थायी घर भएकी ५५ वर्षीया रेनु नेपालीलाई होटलमा लगेर अत्यधिक रक्सी खुवाएर अचेत बनाएका थिए । नेपाली हाल भ्रक्तपुर नगरपालिका–२ को महाकाली कुनाटोल डेरामा बस्दै आएकी थिइन् ।
उनलाई होटलमा लगेर अत्यधिक रक्सी खुवाएर अचेत बनाएर हातखुट्टा बाँधी मुखमा कपडा कोची हार गुहार गर्न नसक्ने अवस्थामा पुर्याएर सुनका गरगहना र मोबाइल लुटपाट गरेकोे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।