
जिरी (दोलखा) । नेप्से परिसूचक ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
नयाँ सरकार गठन भएसँगै शेयर बजार बढ्न थालेको हो । साताको दोस्रो कारोबार दिन आज करिब ५ महिना यताकै उच्च कारोबार भएको छ । यो भदौ १४ गते यताकै उच्च विन्दु हो । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन हिजो ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।