रामेछाप । रामेछापको गोकुलगंगामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता सारदा मावि बनेको छ ।
गोकुलगंगा गाउँपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि सारदा माविले हात पारेको हो । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ । ७ स्वर्ण, ६ रजत पाएको सो विद्यालयले ७ कास्य प्राप्त गरेको हो । यस्तै, जट्टेश्वरी माविले ४ स्वर्ण, २ रजत र १० कास्य गरी १६ पदक, गोकुलगंगा माविले ६ स्वर्ण, ४ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्दा कमलादेवी माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी ११ पदक प्राप्त गरेको छ । श्री माध्यमिक विद्यालय फर्पुले १ स्वर्ण, ३ रजत र १ कास्य पाउँदा सेतीदेवी माध्यमिक विद्यालयले १ स्वर्ण र २ कास्य पाएको आयोजक गोकुलगंगा गाउँपालिकाले जनाएको छ । गोकुलगंगा गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको व्यवस्थापन ठोसेस्थित सारदा माविले गरेको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोकुलगंगा गाउँपालिकाभित्रका ७ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । शनिबारबाट सुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले उद्घाटन गर्नुभएको थियो । मंगलबार समापनमा संघीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगितामा उपाध्यक्ष उषादेवी कार्की, वडा नम्बर २ का अध्यक्ष सुन्दर कार्की लगायतका जनप्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।













