काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तोक्न ताकेता गरेपछि सत्ता गठबन्धनका शिर्ष नेताहरुले छलफललाई तिव्रता दिएका छन् ।
सत्ता गठबन्धनका शिर्ष तीन दलका नेताहरुबीच आगामी निर्वाचनको विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान करिव एक घण्टा भएको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शिर्ष नेताहरुको बैठक भोली बोलाउने सहमति भएको छ । सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस हुँदै आएका बेला गठबन्धनमा आवद्ध शिर्षस्थ नेताहरुले छलफललाई तिव्रता दिएका हुन् । निर्वाचन आयोगले पनि निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई दवाव दिइरहेको छ ।