images
images

सरकारको प्राथमिकतामा परेको तामाकोशी पाँचौको निर्माण कार्य आगामी वर्षबाट मात्रै सुरु हुने

  • १४ माघ २०७९, शनिबार १०:०३

जिरी (दोलखा) । दोलखास्थित तामाकोशी पाँचौ जलविद्युत आयोजनाको निर्माण कार्य आगामी वर्षबाट मात्रै सुरु हुने भएको छ ।

तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया जारी रहेकाले निर्माण कम्पनी छनौटपछि आगामी वर्षबाट निर्माण कार्य अघि बढ्ने भएको हो । सरकारले सो आयोजनालाई प्राथमिकतामा राखी चालु आर्थिक वर्षबाटै काम अघि बढाउने तयारी गरेको थियो । तर, अहिलेसम्म निर्माण गर्ने कम्पनीनै छनौट भइसकेकोे छैन ।

यद्धपी, आयोजना निर्माणको जिम्मा दिनको लागि कम्पनी छनौट गर्न गत साउनमा निकालेको ठेक्कामा दुई चिनियाँ कम्पनी सर्टलिस्टमा परेका छन् । प्राविधिक प्रस्तावमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिस्टमा परेका हुन् । यो सँगै सो दुई कम्पनीमध्ये एउटा चिनिया कम्पनीले निर्माणको जिम्मा पाउने पक्का भएको छ । छनौटमा परेकामध्ये एउटा कम्पनी सिनो हाइड्रोले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिभिल संरचनाको काम गरेको थियो । तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले साउन ९ गते आयोजनाको सिभिल र हाइड्रो मेकानिकल तर्फको ठेक्का निकालेको थियो ।

ठेक्का निकालेको ६ महिनामा दुई चिनियाँ कम्पनी मात्रै छनोट भएका छन् । अब छनौटमा परेका ति दुई कम्पनीको वित्तीय प्रस्तावको मूल्यांकन हुनेछ । त्यसपछि प्रस्तावमा खरिद ऐन र नियमावली अनुसार उपयुक्त एक कम्पनीले ठेक्का पाउनेछ । चालु आर्थिक वर्ष मूल्यांकन सकेर आगामी वर्षबाट निर्माण सुरु गर्ने योजना बनाइएको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले जानकारी दिनुभयो ।

तामाकोसी जलविद्युत आयोजना पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजना जस्तै दुई वटा प्याकेजमा निर्माण हुनेछ । पहिलो प्याकेजको ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको छ भने दोस्रो प्याकेजको ठेक्का निकाल्ने तयारी गरिएको छ । दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल अर्थात् उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न प्रसारणलाइन निर्माणको ठेक्का निकालिनेछ ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गत बन्ने १०० मेगावाटको तामाकोशी पाँचौंको लागि लगानी बोर्डले यसअघिनै १६ अर्ब ४५ करोड ९८ लाख रुपैया लगानी स्वीकृत गरिसकेको छ । तामाकोशी पाँचौं कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन लागेको आयोजना हो । माथिल्लो तामाकोसीकै संरचना प्रयोग गरिने हुदा लागत समेत कम पर्नेछ । आयोजना निर्माणका लागि करिब २० अर्ब रुपैयाँ (ब्याजसहित) लाग्ने अनुमान छ । ब्याजबाहेक १८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाकोबाट विद्युत उत्पादन भएपछि बाहिर निस्किएको पानी सुरुङमार्फत लगेर तामाकोशी पाँचौंबाट विद्युत् उत्पादन गर्ने योजना छ । सो आयोजनाको निर्माण कार्य ४ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । २०८४ सालभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाउने तयारी भएको हो ।
आयोजनाको पावर हाउस (विद्युत गृह) माथिल्लो तामाकोसीको जस्तो भूमिगत हुनेछ ।