images
images

जिरी सामुदायिक आँखा केन्द्रमा मोतियाविन्दुका ५५ बिरामीको निशुल्क अप्रेशन

  • १४ माघ २०७९, शनिबार १८:५५

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी सामुदायिक आँखा केन्द्रमा ५५ जना मोतियाविन्दुका बिरामीहरुको सफल अप्रेशन (सल्यक्रिया) गरिएको छ ।

निशुल्क आँखा शिविरबाट छनौट भएका ५५ जना मोतियाविन्दुका बिरामीहरुको सफल अप्रेशन गरिएको हो । यहि माघ ३ गतेदेखि नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको बाह्य कार्यक्रम अन्तर्गत जिरी सामुदायिक आँखा केन्द्रद्धारा जिरी नगरपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका तथा गोकुलगंगा गाउँपालिकाको विभिन्न स्थानमा निशुल्क आँखा शिविर सञ्चालन भएको थियो । सो शिविरबाट छनौट भएका मोतियाविन्दुका ५५ जना बिरामीहरुको सफल अप्रेशन गरिएको जिरी सामुदायिक आँखा केन्द्र जिरीले जनाएको छ । ५५ जना मोतियाविन्दुका बिरामीहरुमध्य ५३ जना बिरामीको एउटा आँखाको अप्रेशन गरिएको छ भने २ जना वृद्धाको दुवै आँखाको अप्रेशन गरिएको छ ।

दोलखाको जिरी नगरपालिका ८ स्थित ठुलापातलकी ८३ वर्षीया वृद्धा माइसिङ तामाङ र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ शिवालयकी ७३ वर्षीया वृद्धा कृष्णमाया भुजेलको दुवै आँखाको सफल अप्रेशन गरिएको हो । दुवै आँखाको समस्या रहेका ती वृद्धाहरुले अप्रेसनपछि अब सहजै देख्न सक्ने भन्दै खुसी व्यक्त गरेका छन् । आँखाको अप्रेशन हुने बिरामीहरुमा ५० वर्ष भन्दा माथि उमेर समुहका साथै प्राय वृद्धावृद्ध रहेका छन् । तिलगंगा आँखा प्रतिष्ठानका डा. रचना सिंह सहित सात जना चिकित्सकको टोलीले मोतियाविन्दुका बिरामीहरुको सफल अप्रेशन गरेका छन् ।

यसैबीच, प्राइम कर्मसियल बैँक जिरी शाखाले जिरी नगरका प्रमुख मित्र बहादुर जिरेल सहितको उपस्थितिमा सामुदायिक आँखा केन्द्र जिरीलाई २० हजार रुपैैँया हस्तान्तरण गरेको छ । आज विहान प्राइम बैकका शाखा म्यानेजर विष्णुप्रसाद अर्यालले वृद्धावृद्धा मोतियाबिन्दुका बिरामीहरुलाई उपचार क्रममा खाजा र खानाको व्यवस्था गर्न २० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत शिबिरका विरामीहरुको लागि सो सहयोग गरिएको अर्यालले बताउनुभयो ।