
दोलखा । जवरजस्ती करणी आरोपमा पक्राउ परेका दोलखाको जिरी नगरपालिकाका एक युवक पुर्पक्षका लागि थुनामा गएका छन् ।
जिरी नगरपालिका –७ का रुद्रबहादुर जिरेललाई दोलखा जिल्ला अदालतले आज जवरजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश माधव प्रसाद सुवेदीको ईजलासमा भएको थुनछेकको बहसपछि जिरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको दोलखा जिल्ला अदालतका श्रेष्तेदार अन्जन भट्टराईले जानकारी दिनुभयो । अदालतको आदेशपछि जिरेललाई कारागार चलान गरिएको छ ।
जिरेलसँग प्रेम सम्बन्धमा रहेकी ‘परिवर्तित नाम १७ तामाकोशी ७१’ ले कलिलै उमेरमा बच्चा जन्माएपछि उनलाई जवरजस्ती करणीको आरोपमा पक्राउ गरिएको थियो । गत पुस २० गते पक्राउ परेका जिरेलमाथि अनुसन्धान पुरा गरि आज सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरिएको थियो ।
के छ कानुनी व्यवस्था ?
जिरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ विपरितको कसुरमा सोही संहिताको दफा २१९ को उपदफा ३ को खण्ड ‘घ’ बमोजिम सजाय हुने र सोही संहिताको दफा ३ को ‘क’ को देहाय ‘ख’ बमोजिम जरिवाना माग दावि गरिएको छ । सो ऐनमा १० देखि १२ वर्षसम्म कैद र ५ लाख सम्म जरिवानाको व्यवस्था छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ मा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर करणी गरे पनि ‘जवरजस्ती करणी’ गरेको मानिने उल्लेख छ । सोही अनुसार १६ वर्ष वा सो भन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिलालाई जवरजस्ती करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सँजाय हुने कानूनी व्यवस्था छ ।
तत्काल ७५ हजार क्षतिपुर्ति भराउन आदेश
साथै अदालतले पीडितलाई तत्काल ७५ हजार क्षतिपुर्ति भराउन पनि आदेश दिएको छ । मुलुकी अपराध संहिताको दफा ४८ को उपदफा १ बमोजिम पीडितलाई तत्काल क्षतिपुर्ति भराउन आदेश दिईएको हो । पीडितको नावालक अवस्थाको मध्यनजर गर्दै उनको उपचार खर्चका लागि तत्काल क्षतिपुर्ति भराउन आदेश दिईएको दोलखा जिल्ला अदालतले जनाएको छ ।
दलित समुदायकी १७ वर्षीया अविवाहित ती किशोरीले प्रेमीसँगको सम्वन्धपछि कलिलै उमेरमा छोरी जन्माएकी थिईन् ।