जिरी (दोलखा) । राष्ट्रिय गौरवको अपर तामाकोशी आयोजना ३३ करोड घाटामा देखिएको छ । ३ दर्जन बढी जलविद्युत कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा सबैभन्दा बढी दोलखास्थित अपर तामाकोशी घाटामा देखिएको हो ।
पछिल्लो ६ महिनाको अवधिमा कम्पनी ३३ करोड ५ लाख १७ हजार रुपैयाँ नोक्सानी रहेको देखिएको हो । कम्पनीको वित्तीय खर्च उल्लेखीय रुपमा बढेकाले खुद नोक्सानी वृद्धि भएको हो । सो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ३ अर्ब ६४ करोड ६५ लाख २५ हजार रुपैयाँ आम्दानी भएको छ । कम्पनीले निर्माण गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भई भदौ २५ गतेदेखि आयोजनामा जडित ६ वटै युनिटबाट विद्युत् बिक्री भइरहेको छ ।
गत वर्षको पुस मसान्तसम्ममा पनि कम्पनी ३ करोड १५ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । हालसम्म ४१ वटा जलविद्युत कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये अपर तामाकोशी सहित विभिन्न आठ कम्पनी घाटामा देखिएका हुन् । ती कम्पनीहरु ५९ करोड १० लाख ८९ हजार रुपैयाँ घाटामा देखिएका छन् । गत वर्षको दोस्रो त्रैमासिकमा पनि घाटामा रहेका ६ कम्पनी यो वर्षको सोही अवधिमा पनि घाटामै देखिएका छन् ।