
हेटौंडा । बागमती प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिपरिवार एक लाख रुपैया क्षतिपुर्ति दिने भएको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले गत साता हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका दुई जना र सिन्धुलीका एक जनाका परिवारलाई प्रतिपरिवार एक–एक लाख रुपैँयाका दरले क्षतिपुर्ति दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले हात्तिको आक्रमणमा परी मृत्यु भएका परिवारलाई क्षतिपुर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
जंगली हात्तीको आक्रमणबाट मकवापुरको मनहरी ४ की ६४ वर्षिया राधा अधिकारी, वकैया ५ का सन्तलाल माझि र सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १३ रानीबासका ४१ वर्षिय डण्डपाणि पौडेलको मृत्यु भएको थियो । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैँया क्षतिपुर्ति दिलाउन पहल गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशिक बिमल पोखरेलको राजीनामा स्विकृत गरेको छ भने कृषि मन्त्रालय मार्फत स्थानीय तहमा कार्यान्वयन हुनेगरी विभिन्न शिर्षकमा ३ करोड बजेट पठाउने निर्णय गरेको छ ।