
दोलखा । दोलखामा सह–सचिव स्तरका प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था भएपनि गृह मन्त्रालयले मनोमानी ढंगले कर्मचारी पठाउने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखामा राजपत्राङ्कित प्रथम श्रेणी अर्थात सह–सचिव स्तरको दरवन्दी रहे पनि मन्त्रालयले सह–सचिव र उप–सचिव दुवै तहका प्रशासकलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाउने गरेको छ । राजनीतिक आड र पहुँचका आधारमा माथिल्लो तहको दरवन्दी कायम रहेको दोलखामा उप–सचिव तहको प्रमुख जिल्ला अधिकारी पठाउँदा जिल्लास्थित सरकारी कार्यालयहरुको समन्वय र कमाण्डमा समस्या हुने गरेको छ । प्रजिअको छोटो समयमै सरुवा हुँदा जिल्लाको शान्तिसुरक्षादेखि प्रशासनिक काम समेत प्रभावित हुँदै आएको छ ।
गृह मन्त्रालयले दुई महिना अघि मात्रै दोलखाका प्रजिअ भोजराज खतिवडाको सरुवा गरेर उनको ठाउँमा शेखर पौडेललाई नयाँ प्रजिअको जिम्मेवारी दिएर पठायो । सह–सचिव स्तरका खतिवडालाई सरुवा गरेर उप–सचिव पौडेललाई दोलखा पठाएको दुई महिना नबित्दै उनलाई इलामको सहायक प्रजिअमा सरुवा गरिएको छ । गृह प्रशासनले राजपत्राङ्कित प्रथम श्रेणीको दरवन्दी रहेको दोलखामा उप–सचिव पौडेललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको दुई महिना पुरा नहुँदै पुनः सह–सचिव कोमलप्रसाद धमलालाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ । धमला गृहमन्त्रालयवाट दोलखा आउन लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दोलखामा राजपत्राङ्कित प्रथम श्रेणीको दरवन्दी कायम छ । जिल्लामा पहिलो पटक सह–सचिवस्तरका रमेशप्रसाद शिवकोटी प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । त्यस यता सह–सचिवहरु टेकराज निरौला र भोजराज खतिवडा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर आएका थिए ।
राजनीतिक आड र पहुँचका आधारमा माथिल्लो तहको दरवन्दी कायम रहेको दोलखामा उप–सचिव तहको प्रमुख जिल्ला अधिकारी पठाउँदा जिल्लास्थित सरकारी कार्यालयहरुको समन्वय र कमाण्डमा समस्या हुने गरेको छ । दोलखाको प्रमुख जिल्ला अधिकारीमा स्विकृत दरवन्दी भन्दा तल्लो तहका प्रशासक पठाउँदा समन्वयमा समस्या हुने गरेको छ ।
जिल्लामा सह–सचिव स्तरको प्रमुख जिल्ला अधिकारीको दरवन्दी स्विकृत भएपछि तत्कालिन उप–सचिव बासुदेव घिमिरे र उप–सचिव शेखर पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको थियो ।
दोलखाको प्रमुख जिल्ला अधिकारीमा स्विकृत दरवन्दी भन्दा तल्लो तहका प्रशासक पठाउँदा समन्वयमा समस्या हुने गरेको छ । संघ र प्रदेश मातहतका कतिपय कार्यालय प्रमुख उप–सचिव स्तरकै भएका कारण सोही तहको प्रजिअवाट समन्वय गर्न समस्या भएको हो । जिल्ला समन्वय समिति, भीमेस्वर नगरपालिका, जिरी नगरपालिका, मालपोत कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयमा उप–सचिव स्तरका कार्यालय प्रमुख रहेका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारीमा सह–सचिव कोमलप्रसाद धमलालाई सरुवा गरिए पनि उनी अहिलेसम्म कार्यालय हाजिर भएका छैनन् । लमजुङको प्रमुख जिल्ला अधिकारीवाट दोलखाको सहायक प्रजिअ पदमा सरुवा गरिएका बसन्त पुरी पनि हाजिर भएका छैनन् । इलाम सरुवा भएका प्रजिअ शेखर पौडेल सरुवा अघि नैं विदामा गएका थिए भने सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएर गएपछि जिल्ला प्रशासन कार्यालय दोलखा प्रशासकीय अधिकृतको भरमा संचालन भईरहेको छ ।