images
images

रामेछापको बेतालीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु

  • १४ चैत्र २०७९, मंगलवार ०७:०१

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको मृत्यु भएको हो । हिजो बेलुकी करिब साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समुहले थापामगरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली लैजाने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो भने एउटा हातको अम्ला काटिएको थियो । ति वृद्धको श्रीमती बिरामी भएर काठमाठौ गएकी थिइन । घरमा छोरीहरु भएपनि बाहिर गएको अवस्थामा सो घटना घटेको स्थानीयले बताएका छन् ।

कसले र किन खुकुरी प्रहार गरेको भन्ने विषयमा केहि नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको रामेछापका प्रहरी निरिक्षक रञ्जन गिरीले जानकारी दिनुभयो । यसअघि पनि बेताली भिमसेनथानस्थित सिरानघरकी अन्दाजी ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । एक पछि अर्को गर्दै यस्ता घटना घट्न थालेपछि स्थानीयमा त्रास पैदा भएको छ ।